

ट्रमा सेन्टरमा बेथितिः सेन्टरका प्रमुख डा. रिजाल नै कमाउधन्दामा !

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टर अनियमितता र भ्रष्टाचार भएको समाचार बाहिरिन थालेको छ । ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल मातहत स्थापित भए पनि हाल पछिल्लो समय मेडिकल माफिया र निजि अस्पताल सञ्चालकको कब्जामा देखिएको छ ।
निजी अस्पतालका समेत सञ्चालक रहेका ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले नै अनियमितताको सुरुवात गरेपछि अन्यले पनि अस्पतालमा उपचारका लागि आएका बिरामीहरुलाई अन्यत्रै जान बाध्य बनाई बिरामीहरुलाई दुःख दिइरहेको गुनासो आएको छ । ट्रमा सेन्टरमा विशेष गरी आकस्मिक विभाग तथा ओपिडिमा चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसासम्बन्धी बिरामीहरु आउने गर्दछन् । ति बिरामीहरुलाई बेड नभएको बहाना बनाउँदै हप्तौंसम्म आकस्मिक कक्षमा राखेर मानसिक पीडा दिएर निर्देशक डा. रिजालकै निजी अस्पताल जानका लागि बाध्य बनाइँदै आएको जनाइएको छ ।
त्यसैगरी बेड पाएका बिरामीहरुलाई पनि लामोसमयसम्म अपरेशन वा थप उपचार नगरि बिरामीहरुलाई राख्ने गरेको पाइएको छ । साथै अपरेशनमा प्रयोग हुने सामाग्रीहरु निश्चित व्यापारीहरुसँग खरिद गर्न लगाइने पनि जनाइएको छ । साथै बिरामीहरुलाई बेड खाली नभएको बहानामा ४÷५ महिनाको समयावधि दिए पनि अस्पतालबाट भनिएको स्थानबाट औषधी खरिद गरेमा भोलि÷पर्सीपल्टै अपरेशन गर्ने गरिएको पनि एक कर्मचारीले बताए । उनले भने, ‘अपरेशनमा प्रयोग हुने औषधी ट्रमा सेन्टर पछाडिको पसलबाटै किन्नुपर्छ, तर हड्डीमा लाग्ने स्टील चाहिँ बिरामीको बेड–बेडसम्मै आइपुग्छ ।’
डा. रिजाल निर्देशकमा नियुक्ति भएपछि पनि आफ्नै निजी अस्पतालमा बिरामी जाँच्न जाने गरेको पनि जनाइएको छ । साथै उनले व्यवस्थापनको जानकारी बिना कर्मचारी नियुक्त गर्ने, आफू निकटलाई टेण्डरका लागि सेटिङ गर्ने गरेको पनि ती कर्मचारीले बताए । त्यसबारेमा डा. रिजालसँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क भएन ।

