

सुरक्षा परिषदमा प्रधानमन्त्री ओलीको ब्रिफिङ – ‘जस्तोसुकै अवस्था आउन सक्छ, सतर्क रहनुहोस्’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायहरुलाई निर्वाचनको माहौल बन्दै जाँदा जस्तोसुकै संकट आउनसक्ने भन्दै सोहीअनुसारको रणनीति बनाएर काम गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय सुरक्षा परिषदको नियमित बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने जिकिर गरेका प्रम ओलीले त्यसलाई अवरोध गर्न विभिन्न खालका अड्चनहरु आउनसक्ने उल्लेख गर्दै त्यसलाई समेत सामना गरेर निर्वाचनलाई जुनसुकै हालतमा पनि सफल बनाउने खालको सुरक्षा रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन् ।
‘प्रधानमन्त्री ज्यूले जस्तोसुकै परिस्थितिका लागि समेत तयार रहन भनेर प्रष्ट सन्देश दिन खोज्नुभएको बुझियो ।’ सुरक्षा परिषदको बैठकमा सहभागी उच्च सुरक्षा अधिकारीले भने, ‘उहाँले फेरि एकपटक निर्वाचनको पक्षमा दृढता व्यक्त गर्नुभएको छ ।’
त्यस्तै बैठकमा विप्लव नेतृत्वको माओवादीको विषयमा समेत कुराकानी भएको जनाइएको छ । विप्लवसँग वार्ता हुन लागेको उल्लेख गर्दै ओलीले दुई तीन दिनमै परिणाममुखी काम हुन लागेको समेत बताएका थिए ।
यसैबीच, ओली निकट उच्च स्रोतका अनुसार सरकारले मंगलबार नै विप्लवसँग वार्ता गर्ने गरी विष्णु पौडेल वा प्रदीप ज्ञवालीको नेतृत्वमा वार्ताटोली बनाउने सम्भावना समेत रहेको छ ।
सरकारबाट वार्ताको प्रस्ताव गइसकेपछि विप्लव नेतृत्वको माओवादीले समेत वार्ता टोली बनाइसकेको छ । वार्ता टोलीमा पार्टी प्रवक्ता खड्गबहादुर विक, धर्मेन्द बास्तोलालगायतका नेताहरु सहभागी हुनेछन् ।

