

सुन तस्करीमा मन्त्रीको नाम जाेडिएकाेबारे एमालेले माग्यो सरकारको जवाफ

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ ।
आज (शनिबार) बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो ।
पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ । लामा, बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा निकट हुन् । एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीको नाम त लिएनन्, तर उनको नाम उल्लेख गरेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘हाम्रै प्रदेश सरकारका मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा पत्रपत्रिकामा आएको छ । यो हो वा होइन रु सरकारले संसदलाई सुसूचित गराउनुपर्छ ।’
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले सुन प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नाम जोडीएकोप्रति आपत्ति जनाएका हुन्।

