गैह्रीगाउँ सामूहिक हत्या प्रकरणः एसएसपी राठौरको नेतृत्वमा छानबिन समिति गठन


काठमाडौं – गएराति काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न प्रहरीले ५ सदस्यीय समिति गठन गरेको छ ।

सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

प्रतिक्रिया