एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता


काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित आज (सोमबार) अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो।

उनीहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका छन्। एन्फा इतिहासमा पहिलोपटक अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो।

अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए। अविश्वासको प्रस्ताव सहित बुझाएको निवेदनमा अन्य १९ बुदा समावेश गरिएको छ।

उनीहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितीको माग गरेका थिए। उनीहरुले भौतिक उपस्थिती नभए बहिस्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए।

क्लबहरुको चेतावनीलाई बेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविस्वासको प्रस्ताव अगाडि बढाउनु परेको पूर्वअध्यक्ष शेर्पाले बताए।

अध्यक्ष र महासचिव विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबारको विशेष साधारणसभा स्थगित भएको छ। एन्फा प्रवक्ता सुरेश शाहले प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा स्थगित भएको जनाएका छन्।

प्रतिक्रिया