रिहा भएलगत्तै पक्राउ परे विप्लव नेता बास्तोला


काठमाडौं — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै उनी पक्राउ परेका हुन् ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको र गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो।

रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्च अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो। सोही मुद्दामा फेरि पक्राउ गरिए प्रहरीलाई नै कारवाही गर्ने सर्वोच्च अदालतको आदेशविपरीत प्रहरीले सर्वोच्च अदालत परिसरबाटै धमेन्द्र बास्तोलालाई पुनः पक्राउ गरेको हो ।

बाँस्तोलालाई चौथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो। उनलाई पाँचौपटक प्रहरीले पक्राउ गरेको हो।

यता सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि गृहकार्य अघि बढाएको जनाएको छ। सरकार वार्ताको तयारीमा रहेको भनिएको बेला सर्वोच्च अदालतले वास्तोलालाई रिहा गर्न आदेश दिएपनि प्रहरीले उनलाई पुन पक्राउ गरेको हो।

प्रतिक्रिया