प्रहरीमा सरूवा मापदण्डः संगठन सुधारका लागि प्रतिबद्ध आईजी कुँवर र निरन्तताको चिन्ता !


काठमाडौं – नेपाल प्रहरीमा ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड–२०७९’ लागू भएको आज १ महिना पुग्यो । यस अवधिमा भएका सरूवामा मापदण्डलाई नै प्रमुख आधार मानेर सरूवा गरिनु  हेडक्वार्टरका लागि सुखद् पक्ष हो । कसैले स्वार्थपूर्तिका हिसाबले प्रश्न खडा गरे पनि अधिकांशले यसको स्वागत नै गरेको देखिएको छ ।

लामो समयदेखि सरुवामा राजनीतिक दबाब र पहुँचका कारण विवादित देखिँदै आएको नेपाल प्रहरीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यही साउन २१ गते ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड–२०७९’ पारित भएसँगै थपिएको उत्साह कतिबेरसम्म कायम रहने हो भन्ने प्रश्न उठ्न थालेका छन् । प्रहरीमा पछिल्ला दिनमा मापदण्डअनुसार नै लगातार सरुवा भइरहेको परिप्रेक्ष्यमा यसले कहिलेसम्म निरन्तरता पाउने हो ? भन्ने प्रश्न उठ्न थालेको हो ।

सरुवामा कार्यक्षमता, अवधि भन्दा पनि भनसुन र राजनीतिक पहुँचकै भरमा गर्ने परिपाटी रहेकोमा वर्तमान प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरको पहल कदमीमा जारी भएको मापदण्डलाई पूर्ण कार्यान्वयनका लागि ऐनमै समावेश गराउनुपर्ने माग पनि उठ्न थालेको छ ।

नेतृत्व र सरकार परिवर्तनसँगै संगठनमा पनि प्रत्यक्ष प्रभाव परिरहेको अहिलेसम्मको इतिहासबाट नबिर्सिएका कतिपय बरिष्ठ अधिकृतहरुले यस मापदण्डलाई ऐनमै समावेश गर्नुपर्ने जनाएका छन् । ‘वर्तमान गृहमन्त्री र आईजी हुँदासम्म मात्रै यो मापदण्ड लागू हुने हो कि, शंकै लाग्छ,’ एक प्रहरी अधिकृत भन्छन् ।

वर्तमान गृहमन्त्री र आईजीको पहलमा लागू भएको मापदण्डबाट प्रहरीमा वर्षौंसम्म एकै स्थानमा बसेर काम गर्ने परिपाटीलाई अन्त्य गर्दै दक्षता वृद्धि र कमाण्डिङ स्किलअनुसार जिम्मेवारी पाउने भएकाले प्रहरी कर्मचारीहरुको मनोबल उच्च रहेको देखिएको छ ।

संगठनको कमाण्ड सम्हालेसँगै मातहतका कर्मचारीको मनोबल उच्च राख्ने प्रतिबद्धता गरेका आईजी कुँवरको पहलबाट आएको मापदण्डले निरन्तरता पाउनुपर्ने अधिकांश प्रहरी कर्मचारीहरुको माग छ ।

‘अहिले चाकडी, चाप्लुसीकै भरमा वर्षौंसम्म एकै ठाउँमा र राम्रा ठाउँहरुमा मात्र जान चाहने प्रहरीको निदहराम भएको छ, मापदण्ड पूर्णरुपमा लागू भएमा हामी जस्ता कोही नभएकाले पनि न्याय पाउनेछौं, त्यसैले मापदण्डलाई ऐनमै समावेश गर्नुपर्छ,’ एक प्रहरी कर्मचारी बताउँछन् ।

मापदण्डअनुसार नेपाल प्रहरीले पहिलोपटक ९५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको थियो । त्यसपछि भएका प्रत्येक सरुवामा मापदण्डअनुसार नै सरुवा गरेको संगठनमा यो मापदण्ड सधैं लागू हुनुपर्ने देखिएको छ ।

त्यसपछि भएका एसएसपी, एसपी, डिएसपी सरुवामा समेत मापदण्ड लागू भएपछि यस मापदण्डले निरन्तरता पाउने विश्वास लिइएको छ । त्यसका साथै प्रहरीले बिहीबार मात्र गरेको विभिन्न पदका सञ्चारतर्फका ५९० जना प्रहरी कर्मचारीहरुमा पनि मापदण्डअनुसार नै सरुवा गरेको जनाएको छ । र, यसै साता हुने अन्य सरुवा पनि मापदण्डअनुसार नै हुने प्रधान कार्यालय स्रोतले जनाएको छ ।

जारी मापदण्डमा सरुवाका लागि दर्जागत रुपमा मापदण्ड रहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी सम्मको सरुवामा मापदण्ड बनाइएको छ । त्यसका साथै विशिष्टिकृत ब्यूरो, ट्राफिक प्रहरी कार्यालय, लेखापाल र सहायक लेखापाल, क्इऋइ तथा क्इऋइ सहायक, विशिष्ट व्यक्तिको सुरुक्षा, पोलिग्राफीमा काम गर्ने कर्मचारी, प्रहरी विद्यालयतर्फ, प्रहरी प्रशिक्षण, विपत व्यवस्थापन, प्राविधिक समूहका लागि फरक–फरक व्यवस्था मापदण्डमा गरिएको छ ।

प्रतिक्रिया