बाजुरामा माइत बस्दै आएकी एक महिला घरभित्र मृत फेला, हत्या भएको आशंका


काठमाडौं – बाजुरामा घरभित्र एक जना महिला मृत फेला परेकी छन्। बिहीबार बुढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्।

उनी बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी थिइनन्। बिहीबार पनि नदेखिएपछि उनको घरमा जाँदा मृत फेला परेपछि प्रहरीलाई खबर गरेको छिमेकी केशरकुमार बोहराले बताए। मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ।

स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन्। उनी लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन्। शाहीको मुगु नखर्चीमा विवाह भएको थियो। श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन्।

उनले घरमै सानो पसल सञ्चालन गरेकी थिइन्। शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमर्टम गरिएको छ। आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले शाही घरभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए।

‘उनको शरीर, अनुहारमा निलडाम छैन, घाँटीमा डोरी बाँधिएको छ। घटना अलि शंकास्पद छ। पोस्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुसन्धान हुनेछ, अहिले पहिलो चरण अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया