नेपाल प्रहरीले मनायो इन्टरपोलको सयौं वार्षिकोत्सव


काठमाडौं – प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा इन्टरपोलको सयौं वार्षिकोत्सव मनाइएको छ ।

इन्टरपोल स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा हेडक्वार्टरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीले प्रकाशित गरेको पुस्तिका सार्वजनिक गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वलाई शान्ति स्थापना र अपराध नियन्त्रणका लागि इन्टरपोलले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल प्रहरी र नेशनल सेन्ट्रल ब्यूरोको इन्टरपोलसँगको सम्बन्धले अपराध नियन्त्रणमा सहयोग पुगेको बताउँदै आगामी दिनमा थप समन्वय गरेर अगाडि बढ्न नेपाल प्रहरीलाई निर्देशन समेत दिए ।

उक्त अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इन्टरपोललाई सय वर्ष पुगेको अवसरमा बधाई दिँदै नेपाल प्रहरीले पनि सदस्यको रुपमा इन्टरपोलसँगको समन्वयमा देशभित्र र देशबाहिर पनि कार्य गर्दै आएकोले बधाई एवंं धन्यवाद समेत दिए ।

उक्त कार्यक्रमको सभापतित्व गरेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले इन्टरपोलको सयौं सदस्य रहेको नेपालले आज सयौं वार्षिकोत्सव मनाउन गएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अपराध नियन्त्रणमा समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त अवसरमा नेपाल प्रहरी र इन्टरपोलको झण्डा सगरमाथामा फहराउन सफल बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) पुरुषोत्तम नेपालीलाई समेत परिचित गराउनुका साथै इन्टरपोलसँगको समन्वयमा नेपाल प्रहरीले गरेका कार्यहरुका बारेमा वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा इन्टरपोलका नेपालस्थित प्रमुखलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया