

दुई रोहितबीचको प्रतिस्पर्धा, जित्नको लागि खेल्ने भारत र राम्रो क्रिकेट खेल्ने नेपालको लक्ष्य

काठमाडौं – आज श्रीलंकाको पाल्लेकेले रंगशालामा क्रिकेटका लागि भविष्य कोर्दै गरेको नेपाल र विश्व क्रिकेट महारथी भारतबीच खेल हुँदैछ । एसियाकपको समूहचरणको दोस्रो खेलमा यी दुवैले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
नेपालले विश्वक्रिकेटमा एकछत्र राज जमाउँदै आएको भारतको सामना गर्दैछ । यी दुवै टिममा एउटा भने समानता रहेको छ, दुवै टोलीका कप्तानको नाम रोहित रहेको छ । एउटा रोहित पौडेल अनि अर्का रोहित शर्मा ।
नेपाललाई सुपर फोरमा पुग्नका लागि खेल जित्नै पर्ने बाध्यता छ भने भारतलाई खेल रद्ध भएर अंक बाँड्न परे पनि अर्को चरण प्रवेशका लागि ढोका खुल्छ ।
नेपालले भारतसँग पहिलो पटक खेल्न लागेको हो । पहिलो भेटमा नै भारतलाई स्तब्ध पार्ने लक्ष्यमा नेपाल रहनेछ ।
हुन त बलियो भारतविरुद्ध नेपालले जित्ने भन्दा पनि राम्रो र स्वभाविक क्रिकेट खेल्नुपर्ने हुन्छ । तर, हरेक खेलमा नेपालविरुद्ध हाबी भएको भारतलाई क्रिकेटमा भने नेपालले चक्मा खुवाउन असम्भव भन्ने चिज क्रिकेटमा हुँदैन ।
नेपालसँगको खेलमा लामोसमयपछि टिममा फर्किएका जसप्रित बुमराहले नखेल्ने जनाइसकेको अवस्थामा केही सहज भने अवश्य छ ।
एसिया कपको समूह ए को अन्तिम खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । दुई देशबीचको खेल सोमबार दिउँसो सवा ३ मा श्रीलंकाको क्यान्डीमा हुनेछ । नेपाली क्रिकेटप्रेमीहरुले आजको खेललाई ज्यादै महत्वपूर्ण खेलको रुपमा लिएका छन् । नेपालका हरेक क्रिकेटप्रेमीहरु नेपाली टिमको समर्थनमा जुटेका छन् ।
खेलाडीलाई हौसला बढाउनका लागि सयौं नेपालीहरु श्रीलंका पुगिसकेका छन् ।
समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाईसकेको छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।
सुपर फोरमा स्थान बनाउँने पाकिस्तान पहिलो टोली समेत बनेको छ । शनिबारको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।
शनिबारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।
सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिबारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।
एसिया कपमा सहभागी ६ देश दुई समूहमा विभाजित रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् ।
सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

