
दानको जग्गालाई खरिदमा परिणत गर्ने प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दानपत्रमा प्राप्त जग्गालाई खरिद गरेको देखाउँदै भुक्तानी दिने सोलुखुम्बुको लिखुपिके–२ का वडाध्यक्ष, प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोलुखुम्बु, लिखुपिके गाउँपालिका वडा नं। २ मा वडा कार्यालयको भवन निर्माण गर्न जग्गाको माग गर्दा दान पत्रमा पाएको जग्गा तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतले भवनका निम्ति निशुल्क पाएको जग्गा ६ लाखमा खरिद गरेको भन्दै झुटो कागजात खडा गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले दानपत्रबाट प्राप्त जग्गा खरिद गरेको देखाउँदै ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले आइतबार दुवैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगको दाबीमा, दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत जग्गा खरिद गरेको झुटा व्यहोरामा उक्त रकम भुक्तानी दिएका थिए । दानपत्रमा प्राप्त जग्गामा भुक्तानी दिन वा लिन मिल्दैन ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भएबमोजिमको कसुर गरेको हुँदा निजहरुलाई ६,००,०००।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



कागजपत्र |
