प्रहरी संगठनकै ‘उत्कृष्ट’हरुको कमाण्डमा काठमाडौं !


काठमाडाैं – काठमाडौं, संघीय नेपालको राजधानी । देश–विदेशदेखि हरेक नागरिकदेखि निकायसम्मको पहिलो प्राथमिकतामा पर्ने सहर । राजधानी हरेक हिसाबले सुरक्षित हुनुपर्छ, त्यसलाई वर्तमान नेपाल प्रहरी संगठनले राम्रोसँग बुझेको देखिएको छ ।

नेपाल प्रहरीले शुक्रबार गरेको एसपी र डिएसपी सरुवापछि त्यसको छनक राम्रैसँग देख्न पाइयो । हेडक्वार्टरले संगठनमा रहँदा उत्कृष्ट कमाण्ड सम्हालेकाहरुलाई राजधानीको जिम्मा लगाएको भान हुन्छ । उपत्यका प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई कमाण्ड सुम्पिँदा काठमाडौं जिल्ला परिसरमा भूपेन्द्र खत्रीलाई ल्याइयो ।

सेवाकाल भरि उत्कृष्ट कार्यक्षमता प्रस्तुत गरिरहेका यी अधिकारीहरुलाई साथ दिनका लागि हेडक्वार्टरले कुमोध ढुंगेल र अंगुर जिसीलाई काठमाडौं परिसरमा ल्यायो ।

हरेक हिसाबले मुलुकको सबैभन्दा संवेदनशील मानिएको काठमाडौंमा हेडक्वार्टरले संगठनकै उत्कृष्ट अधिकारीहरुलाई जिम्मेवारी दिनुले राजधानीप्रति हेडक्वार्टर सिरियस भएको देखिएको छ ।

पछिल्लो समयमा राजधानीमा विस्तारै बढ्दै गएको गुण्डागर्दी, आपराधिक क्रियाकलाप र भ्रष्टाचारका काण्डहरु बढ्दै जाँदा सबैभन्दा पहिलो पंक्तिमा खटिनुपर्ने प्रहरीमा दक्ष र उत्कृष्ट अधिकृतहरुलाई जिम्मा दिनु संगठनको राजधानीबासी र मुलुकप्रतिको कर्तव्यबोध हो भन्ने प्रष्ट हुन्छ ।

संगठनकै निडर र व्यावसायिक प्रहरीको छवि बनाएका एसएसपी खत्रीको काठमाडौं आगमनसँगै जनताले आफूसँग गरेको अपेक्षालाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

संगठनले त्यसअघि नै नेपाल प्रहरीमा ‘सिंघम प्रहरी’ अधिकृतका रुपमा परिचित एसपी कुमोध ढुंगेललाई परिसरमा काजमा खटाएको थियो । एसपी ढुंगेल भेष बदलेर गरिने अनुसन्धानमा पोख्त प्रहरी अफिसरका रूपमा चिनिन्छन् । ढुंगेलले ठूला–ठूला अपराधका अपराधी पत्ता पक्राउ गर्नेदेखि डुण्डाहरूको इन्काउन्टर गरेर चर्चामा आएका थिए । रामेछापमा हुँदा रुपन्देहीका गुण्डा नाइके मनोज पुनलाई पक्रने जिम्मा पाएका ढुगेलले पुनलाई पक्राउ गर्ने क्रममा आफूमाथि नै आक्रमणको प्रयास गरेपछि इन्काउन्टर गरेका थिए भने दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टर घटनामा पनि कमाण्ड गरेका थिए । यी दुई चर्चित ठूलाको घटनाको कमाण्ड गरेपछि उनलाई ‘सिंघम’ प्रहरीको रुपमा लिन थालिएको थियो । उनै सिंघम ढुगेल अहिले एसएसपी भूपेन्द्र खत्रीको प्रवक्ताको रुपमा काठमाडौं परिसरमा खटाउनु उपत्यकामा मौलाउन लागेको गुण्डागर्दीलाई अन्त्य गर्नु रहेको बुझिएको छ । ढुंगेल उत्कृष्ट प्रहरी अधिकृत हुन् भन्ने कुरा यसअघिका एसएसपी दानबहादुर कार्कीले प्रवक्ताको जिम्मेवारी दिएबाटै पनि पुष्टी हुन्छ ।

त्यस्तै हेडक्वार्टरले पछिल्लोपटक सरुवा गरेको डिएसपीको सूचीमा काठमाडौं प्रहरी परिसरमा डिएसपी अंगुर जिसीको सरुवा भएको छ । डिएसपी जिसी पनि संगठनका उत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा परिचित छन् ।

त्यसैमाथि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्र सिंह राठौरको कमाण्ड पक्कै पनि सफल सिद्ध हुन्छ । उनी पनि नेपाल प्रहरीका उत्कृष्ट अधिकृतका रुपमा चिनिन्छन् । अपराध अनुसन्धान र कमाण्डिङमा उत्कृष्ट मानिएका राठौरले उपत्यकाभरिका अपराध अनुसन्धानमा खेल्न सक्ने भूमिकालाई मध्यनजर गर्दै हेडक्वार्टरले जिम्मा दिएको हो ।

त्यसका साथै सिआइबीमा एसपी होबिन्द्र बोगटीको सरूवा पनि उपत्यकाबासीका लागि सुखद् सन्देश नै हुनसक्छ । उनी पनि अपराध अनुसन्धानदेखि लिएर प्रहरीभित्र उत्कृष्ट र दक्ष अधिकृतका रूपमा चिनिन्छन् ।

त्यसका साथै अपराध अनुसन्धानमा उत्कृष्ट मानिएका इन्स्पेक्टर दीपेन्द्र चन्द पनि काठमाडौं परिसर सरुवा भएका छन् । यसअघि बुढानिलकण्ठ वृत्तको कमाण्ड सम्हालेका इन्स्पेक्टर चन्द कुनै समय सई हुँदाका बखत नेपाल प्रहरीको अपराध अनुसन्धानमा सबैभन्दा उत्कृष्ट अधिकृतका रुपमा चिनिने गरेका थिए । अपराध अनुसन्धान, शान्ति सुरक्षाका लागि दख्खल मानिएको अहिलेको काठमाडौं प्रहरीको टिमबाट उपत्यकाबासीले शान्तिको सास फेर्न पाउने अपेक्षा लिएका छन् । उनी अहिले अपराध अनुसन्धान कार्यालय मीनभवनमा काज सरूवा भएका छन् ।

यसरी हेर्दा नेपाल प्रहरीले पछिल्लो समय उपत्यकाको शान्ति सुरक्षालाई सबैभन्दा महत्व दिँदै उत्कृष्ट अधिकृतहरुलाई जिम्मा दिएको छ । यसबाट आगामी दिनमा उपत्यकाबासीले शान्तिको सास फेर्न पाउनेमा आशावादी देखिएका छन् भने उपत्यकामा व्यवसायीहरुमा गुण्डागर्दीले पार्ने प्रभावको अन्त्य हुने अपेक्षा पनि गर्न सकिन्छ ।

प्रतिक्रिया