मोरङमा १३ वर्षीया बालिकाले जन्माइन् बच्चा


मोरङ – मोरङमा एक १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् ।

एक किशोरसँगको शारीरिक सम्पर्कबाट आठ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरा जन्माएकी हुन् । बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएकी हुन् । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।

विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा सामान्य प्रसूतिमार्फत बालिकाले शिशु जन्माएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् । बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेको पाइएको उनले जानकारी दिए ।

डाक्टरले परीक्षण गर्दा गर्भ रहेको खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय किशोरसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ । बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’ मा राखी घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँअन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले बताए ।

१८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क राखे पनि कानुनले त्यसलाई बलात्कार (जबरजस्ती करणी) मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएपछि प्रहरीले घटनालाई अनौठो एवं संवेदनशील मानेर अनुसन्धान अघि बढाएको हो । पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ । डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा थाहा नभएको अभिभावकले बताएका छन् ।

कोशी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अशोक मेहताले अहिलेको खानपान तथा वातावरणको असरका कारण बालिकाहरूमा सानै उमेरबाट महिनावारी सुरु हुने गरेको बताए। ‘खानपान र वातावरणको प्रभावका कारण हर्मोनहरू विकास भएर चाँडै महिनावारी सुरु हुन थालेको छ,’ उनले भने, ‘कतिपयमा ११ वर्षकै उमेरमा महिनावारी हुने गरेको पाइन्छ ।’

प्रतिक्रिया