

प्रहरीको डिएसपी र एसपी सरुवा सूची तयार गरिँदै, शक्तिकेन्द्र धाउनेका कारण सरुवामा ढिलाई !

काठमाडौं — अघिल्लो साता नेपाल प्रहरीले उपयत्काका कमाण्डरहरुको सरुवा गरेको थियो । प्रहरी प्रधान कार्यालयले सरुवा गरे पनि विभिन्न राजनीतिक लेप लागेको उक्त सरुवा प्रक्रिया सकिएसँगै अब नक्साल हेडक्वार्टरलले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गर्ने तयारी गरेको छ ।
हेडक्वार्टरले यसअघि ९५८ प्रहरी निरिक्षक (इन्स्पेक्टर) र ५४३ प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा र पदस्थापन गरेको थियो ।
सरुवाको क्रम लामो समय रोकिएको भए पनि नेपाल प्रहरीले पछिल्लो समय क्रमशः सरुवा गर्दै आइरहेको छ । यसैलाई निरन्तरता दिँदै हेडक्वार्टरले आउँदो साता एसपी र डीएसपीको सरुवाको सूची तयारी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसो त सूचीको तयारी अन्तिम चरणमा रहेकोले आजै पनि सरूवा सूची प्रकाशित नहोला भन्न पनि सकिँदैन ।
यही साउन २१ गते गृहमन्त्रीबाट पारित भई लागू भएको ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड–२०७९’ अनुसार सरुवा गर्ने गृहकार्य थालेको हेडक्वार्टर केही व्यवधानका कारण सरुवा हुन विलम्ब भएको जनाएको छ । केही प्रहरी अधिकारीहरुले मापदण्डअनुसार सरुवा गरेको खण्डमा व्यक्तिगत स्वार्थ पूरा नहुने भएकाले राजनीतिक दबाब र संगठनभित्रकै केही अधिकृतहरुको दबाबका कारण सरुवा विलम्ब भएको जनाइएको छ ।
मापदण्डअनुसार अवकाशका लागि एकवर्षभन्दा कम समय रहेका प्रहरी अधिकारीहरुलाई कार्यालय प्रमुख (कमाण्ड) को जिम्मेवारी दिन नसकिने भएको हुनाले कतिपय प्रहरी अधिकृतहरुले राजनीतिक दबाबबाटै भए पनि मापदण्ड मिचेर कार्यालय प्रमुख हुने गरी सरुवाको तयारीमा रहेको जनाइएको छ ।

