२.५ ओभरमै जित्यो नेपालले

आईसीसी महिला टी–२० विश्वकप छनाेटमा बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरमा बिना कुनै विकेट हासिल गरेको हो


काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप छनौटअन्तर्गतको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध १० विकेटको जित हात पारेको छ ।

बहराइनले दिएको ३२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २.५ ओभरमै ३२ रन पूरा गरी जित हात पारेको हो ।

नेपालका लागि कविता कुँवरले १७ रन बनाइन् भने सिता रानामगरले २ रन बनाइन् ।

नेपालले १३  अतिरिक्त रन पाएको थियो ।

त्यसअघि बहराइनले पहिले ब्याटिङ गर्दै १५.४ ओभरमा ३१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको थियो ।

नेपालका लागि कविता कुँवरले ४ ओभरमा ७ रन दिएर १ विकेट लिइन् । उनले २ मेडन समेत राखेकी थिइन् । नेपालका लागि इन्दु बर्माले ३ विकेट हात पारिन् । उनले चार ओभरमा ५ रन खर्चिएर ३ विकेट हात पारेकी हुन् ।

त्यस्तै रुविना क्षेत्री र पुजा महतो समान १/१ विकेट लिएका छन् । त्यस्तै खुशी डंगोलले पनि २ विकेट हात पारेकी छन् । बहराइनका २ खेलाडी रनआउट भएका थिए ।

त्यस्तै बहराइनका लागि कप्तान दिपीका रासंगीका हेरथले ११ रन बनाइन् भने ओपनर थारांगा इसुरी ५ रनमा आउट भइन् ।

त्यस्तै इशारा मधुवान्थी र आशा समिल्देनले ५/५ रन बनाउँदा रसिका रथनामाली, अविरा वारिश अलि, प्राज्ना जगदीशा बाबु, मनाल मलिक  शुन्य रनमा आउट भएका थिए ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया