एमसीसी कार्यान्वयन गर्दा प्रचण्ड बाहेक अरु आए देश युक्रेन बन्छ : विप्लव


सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको चरणमा देशको नेतृत्व प्रचण्ड बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गरेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नु हुन्छ हामीलाई त्यो विश्वास छ । तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ । हेरिराख्नुस्, यो षडयन्त्र हो ।’

सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भए पनि हस्तक्षेप स्वीकार नहुने उनले बताएका छन् । ‘आजसम्म कसैको पनि कसैसामु नझुकेको नेपालमाथि षडयन्त्र गरिँदैछ । कुनै न कुनै रुपले क्रान्तिकारी शक्तिहरुको अभाव हुने बित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरुले क्रान्तिको विरुद्धमा लाग्ने तयारी भएको छ । त्यसको विरुद्धमा पनि हामी लाग्छौं,’ विप्लवले भने ।

नेपालमा कुनै समय सामन्तवादको चकचकी सहिन नसक्नु भएको भन्दै अहिले तिनीहरूलाई धुलो चटाएको दाबी गरे । ‘सामन्तवादको चकचकी नेपालमा सहिनसक्नु थियो। हामीले त्यसलाई धुलो चटाएका छौं । उनीहरुको चकचकी, रजाईं, हैकम, अहकांर सहिनसक्नु थियो। जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह हुँदै सबै क्रान्तिद्वारा हामीले पछारेका छौं,’ विप्लवले भने । आजको परिस्थिति नयाँ ठाउँमा पुुगेको भन्दै नेपाल इतिहासकै गम्भीर र पेचिलो मोडमा पुगेको उनले बताए ।

प्रतिक्रिया