
नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।
पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए।
‘वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने।



कागजपत्र |
