प्रधानमन्त्री ओलीको बचाऊमा ५ लाख साइबर सेना परिचालन गरिने, यीनको ‘ड्युटी’ के हुनेछ?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊका निम्ति साइबर सेना परिचालन गरिने भएको छ। ओली पक्षीय युवा संघ नेपालले गठन गरेको यस्ता भर्चुअल सेनाको काम पनि तोकिएको छ।

युवा संघले औपचारिक रुपमा बैठकमा प्रस्ताव राखेर नै चैत मसान्तसम्म ५ लाखको संख्यामा देश विदेशमा यस्ता साइबर सेना परिचालन गर्न लागेको हो।

युवा संघका इञ्चार्ज महेश बस्नेतको अवधारणामा निर्मित साइबर सेनाले ओलीविरुद्ध विभिन्न सामाजिक सञ्जालदेखि इन्टरनेटमा हुने कुप्रचारविरुद्ध काम गर्ने युवा संघका अध्यक्ष बचन सिंहले बताए।

२५ र २६ माघमा बैठक राखी औपचारिक रुपमा नै निर्णय गरी ओलीविरुद्धका कुप्रचारको खण्डन गर्नका लागि ठूलो संख्यामा इन्टरनेटका माध्यममा यस्ता युवालाई परिचालन गर्नेछ। यसलाई युवा संघले बर्दीबिनाको सेना पनि भनेको छ।

ओलीइतरको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साइबर सेनालाई साइबर स्यालको संज्ञा दिएको थियो। तर त्यस्तो नाम दिनेका लागि अब यसले कस्तो काम गर्छ भनी हेर्नका लागि युवा संघले चुनौति पनि दिएको छ।

प्रतिक्रिया