एयरपोर्टबाट अवैध विदेशी मुद्रासहित फिलिपिनी नागरिक पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले  जानकारी दिए।

उनको साथबाट प्रहरीले १०० दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, ५०० दरको एक हजार १०० थान गरी आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निजलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।

 

प्रतिक्रिया