दिशा रवीका सम्बन्धमा ग्रेताले तोडिन् मौनता: के भनिन् यस्तो ?


नयाँदिल्ली – पर्यावरण अभियन्ता ग्रेता थुनबर्गले शान्तिपूर्ण प्रदर्शन र वाक स्वतन्त्रता निशर्त मानवअधिकार रहेको बताएकी छन्।

भारतमा भइरहेको किसान आन्दोलनलाई लिएर ग्रेताले गरेको समर्थन तथा शान्तिपूर्ण प्रदर्शनका लागि उनले सुझाएको टुलकिटका बारेमा जानकारी साझा गरेका कारण भारतकी पर्यावरण अभियन्ता दिशा रवीलाई प्रहरीले पक्राउ गरेको छ।

सोही घटनालाई लिएर ग्रेताले आफ्नो मौनता तोडेकी हुन्। ग्रेताले ट्वीट मार्फत दिशा रवीको समर्थन गरेकी हुन्।

उनले लेखेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको अधिकार र त्यसका लागि भेला हुन पाउनु त्यस्तो मानवअधिकार हो जसमा कुनै पनि हालतमा सम्झौता हुन सक्दैन । यो कुनै पनि लोकतन्त्रको आधारभूत अंग हुनु पर्छ।’

ग्रेताले यो ट्वीटका साथमा ह्यासट्याग स्ट्याण्ड विथ दिशा रवी प्रयोग गरेकी छन्। ग्रेताले फ्राइडेज फर फ्युचर इन्डिया नामक संस्थाको ह्याण्डलबाट भएको ट्वीटलाई रिट्वीट गरेर आफ्नो समर्थन व्यक्त गरेकी हुन्। दिशा रवी सोही संस्थाकी सदस्य हुन्।

किसान आन्दोलनमा विदेशी षडयन्त्र रहेको दाबी गर्दै त्यसको अनुसन्धानका लागि भन्दै प्रशासनले दिशा रवीलाई पक्राउ गरेको हो।

शुक्रबार दिल्लीको एक अदालतले उनलाई तीन दिन न्यायीक हिरासतमा राख्न अनुमति दिएको छ। दिल्ली प्रहरीले दिशा रवीलाई बैंगलुरु (बैंग्लोर) बाट पक्राउ गरेको थियो।

 

प्रतिक्रिया