

बझाङको एक परिवारमाथि मध्यरातमा आक्रमण, अज्ञात व्यक्तिको चक्कु प्रहारबाट ३ जना घाइते

कैलाली – बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने ३ सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् ।
गए राति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
सुनिताका पति कलम बिक काठमाडौँमा रहेका बेला श्रीमती र दुई छोरामाथि भान्सामा तरकारी काट्ने चक्कुले आक्रमण गरिएको प्रहरीले जनाएको छ।
घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भण्डारीले जानकारी दिए ।

