निर्देशक डा. पौडेलले आक्रमण गरेको भन्दै वीरका कर्मचारीले दिए उजुरी

छानबिनका लागि समिति गठन गर्ने न्याम्सको निर्णय


काठमाडौं — वीर अस्पतालका एक कर्मचारीले अस्पताल निर्देशकबाट नै आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण भएको जनाउँदै शान्तिसुरक्षाको माग गरेका छन् । अस्पतालका रेडियोग्राफी निरीक्षक द्धारिकाप्रसाद यादवले निर्देशक डा सन्तोष पौडेलले ड्युटीको समयमा आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण गरेको भन्दै विभिन्न निकायमा उजुरी दिँदै शान्ति सुरक्षाको माग गरेका छन् ।

यादवले डा. पौडेलले आफूमाथि गरेको दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गरी कारबाही गर्न र सुरक्षाको माग गर्दै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई उजुरी पत्र समेत पठाएका छन्।

रेडियोग्राफी निरीक्षक यादवले ड्यूटीका क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी औषधि बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा अस्पताल निर्देशक डा सन्तोष पौडेलले सत्यतथ्य नबुझी सिटी स्क्यान कार्यकक्ष अगाडि विभिन्न अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै दुर्व्यवहार र हातपात गरेको आरोप लगाएका छन्।

‘मिति २०८०/०४/ ३२ गते बिहान ५ः३० बजे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल रेडियोलोजी विभागको सिटी स्क्यानमा कार्यरत रेडियोग्राफी निरिक्षक म द्धारिकाप्रसाद यादव ड्यूटीको क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले सत्य तथ्य नबुझी सीटी स्क्यान कार्यकक्षको अगाडी बिरामीहरुकै माझ विभिन्न अपशब्द प्रयोग गरी तथानाम गाली(गलौज, नश्लीय दुर्वव्यवहार र हातपात समेत गरी मानसिक यातना दिएको हुनाले उक्त घटनाको अबिलम्ब छानबिन गरी प्रचलित कानुन बमोजिम निजलाई निलम्बन तथा कार्वाही गरी त्रासरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ यादवले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र उपकुलपति कार्यालयमा पठाएको पत्रमा उल्लेख छ।

डा पौडेलले पहिला ट्रमा सेन्टरको निर्देशक हुँदा पनि महिला कर्मचारीलाई गालिगलोज गर्ने धम्काउने, अपशब्द प्रयोग गर्ने गरेको एक कर्मचारी बताउँछन् भने अहिले वीर अस्पतालको निर्देशक भएपछि अस्पतालमा उसको अनियमितता बारेमा कुरा उठाउनेलाई धम्क्याउने थर्काउने, गुन्डागर्दी लगाउने जस्ता काम गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

यादवको उजुरीपछि पटक-पटक विवादमा देखिइरहने डा. पाैडेलमाथि न्याम्सले यस विषयमा छानबिन गर्न कमिटी गठन गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया