

साउनमा बढ्यो आपराधिक घटना, १२७५ मुद्दा दर्ता हुँदा ७६० पक्राउ

काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षको साउन महिनाभन्दा चालु आर्थिक वर्षको साउन महिनामा आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ साउन महिनाको कार्य सम्पादनको तुलनात्मक प्रस्तुतिका लागि आयोजना गरेको पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा साउन महिनामा २ हजार ६५१ जना मानिसहरु सम्पर्कमा आएको बताएको छ । त्यस्तै २ हजार २८२ जनाले टेलिफोन सेवा लिएको, सिसिटिभी जडानमा कालीमाटीको क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा जडान गरिएको, हिरासतमा पुस्तकालय राख्ने सम्बन्धमा प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार र कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताएको छ ।
२०७९/०८० साउन र २०८०/०८१ साउनको महिनाको अपराधको कसुरमा बैंकिङ कसुर मुद्दामा २०७९/०८० साउनमा ५१६ मुद्दा दर्ता भएको जसमा ८१ जना पक्राउ परेकोमा । २०८०/०८१ मा मुद्दा दर्ता संख्या ५६० रहेकोमा पक्राउ संख्या २१२ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताए । उनले अघिल्लो आर्थिक वर्ष साउनको तुलनामा ४४ वटा मुद्दा दर्ता संख्या बढेको र पक्राउ पर्नेको संख्या पनि बढेको बताए ।
एसपी ढुंगेलले अभद्र व्यवहारमा मुद्दा दर्ता २३८ भएकोमा पक्राउ पर्नेको संख्या ३६९ र २०८०/०८१ को साउन महिनामा २७९ मुद्दा दर्ता भएकोमा ४३४ जना पक्राउ परेको बताए । त्यस्तै चोरी सम्बन्धी कसुरमा चालु आर्थिक वर्षको साउनमा ५५ मुद्दा दर्ता भएकोमा ८२ जना पक्राउ परेका छन् । ठगी सम्बन्धी मुद्दामा चालु आर्थिक वर्षको साउनमा ३५ मुद्दा दर्ता भएकोमा १२ जना पक्राउ परेका छन् । लागु औषध मुद्दामा गत आर्थिक वर्षमा ३० मुद्दा दर्ता भएकोमा ३८ जना पक्राउ गरेको र चालु आर्थिक वर्षको साउनमा ३१ मुद्दा दर्तामा ५१ जना पक्राउ परेको बताए ।
आत्महत्या सम्बन्धी कसुरमा गत आर्थिक वर्षको साउनमा २६ मुद्दा दर्ता हुँदा पक्राउ संख्या शून्य र चालु आर्थिक वर्षको साउनमा आत्महत्या सम्बन्धी कसुर बढेर ३७ मुद्दा दर्ता भएका छन् भने पक्राउ कोही पनि परेका छैनन् । त्यस्तै जबरजस्ती करणीमा गत आर्थिक वर्षको साउनमा २० मुद्दामा २१ जना पक्राउ र यस आर्थिक वर्षको साउनमा ३३ मुद्दा दर्तामा ३४ जना पक्राउ परेका छन् ।
त्यस्तै जुवा सम्बन्धी मुद्दा गत आर्थिक वर्षको साउनमा १५ वटा मुद्दा दर्ता भई १०१ जनालाई पक्राउ गरेकोमा चालु आर्थिक वर्षको साउनमा १७ वटा मुद्दा दर्ता भएको छ । साथै पक्राउ पर्नेहरुको संख्या ११३ छ । त्यस्तै अन्य अपराधमा गत आर्थिक वर्षको साउन महिनामा ८१ वटा मुद्दा दर्ता भएको थियो भने पक्राउ संख्या ३१ थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा अन्य अपराधमा ११९ वटा मुद्दा दर्ता भएकोमा १७८ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षको साउन महिनामा १ हजार ४७ मुद्दा दर्ता भएकोमा ७४१ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको साउन महिनामा १ हजार २७५ मुद्दा दर्ता भएकोमा पक्राउ पर्नेहरुको संख्या ७६० जना पक्राउ परेका छन् ।

