


कांग्रेस पूर्वकेन्द्रीय सदस्य नेउपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने

काठमाडाैं – नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेउपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता नेउपानेको ७२ वर्षको उमेरमा आज मध्यबानेश्वरस्थित आफ्नै निवासमा निधन भएको जानकारी दिए ।
स्व नेउपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ । उनको निधनमा कांग्रेसलाई अपूरणीय क्षति पुगेको मुख्यसचिव पौडेलले बताए । स्व नेउपानेको श्रीमती र दुई छोरा छन् ।
कांग्रेसले नेता नेउपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीनदिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने, भदौ ३ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने, र १३ औँ दिनमा सम्बन्धित दिनमा शोकसभा गर्ने जनाएको छ ।
नेउपानेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । ‘कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेउपानेको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ, उहाँको निधनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलन क्षति पुगेको छ’, सभापति देउवाले भनेका छन् ।
सभापति देउवाले नेउपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

