आज पनि भएन सन्दीपको मुद्दामा फैसला, ‘गौशाला-२६’ की आमाको उमेर प्रमाणित गर्न आदेश


काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला बिहीबार पनि नआउने भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा पेसी परे पनि बिहीबार फैसला भएन। इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्ने आदेश गरेको छ। न्यायाधीश खतिवडाले पीडित किशोरीकी आमाको पनि जन्ममिति २ खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन्।

बलात्कार पीडित भनिएकी नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि उक्त जन्ममिति प्रमाणि गर्न भन्दै न्यायाधीश खतिवडाले आदेश दिएका हुन्। २०५३ सालको जन्ममिति भएको अवस्थामा नाबालिग रहेकै बेला पीडित भनिएकी बालिकाको जन्म भएको देखिएपछि आमाको जन्ममिति प्रमाणित गर्ने आदेश दिइएको हो।

सन्दीप विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर बिहीबार पेसी चढेकाले निरन्तरता पाउने बताइए पनि जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सुनुवाइ सकिएको छ।

प्रतिक्रिया