नेकपाको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै, यस्ताे छ कारण


काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसअघि सो पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन भनेको थियो । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।

कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरे पनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

प्रचण्ड माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ । नेकपाले अहिले चौंथो चरणको सडक आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया