प्रधानमन्त्री ओलीको सुरक्षामा पछाडि उभिने सादा पोशाकधारीका ब्रिफकेशमा के हुन्छन्?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाको साँघुरो घेरामा अहिले नेपाली सेना (आर्मी)का सादा पोशाकका अधिकारी खटाइएका छन्। प्रायः अन्य प्रधानमन्त्रीका सुरक्षामा यसरी नदेखिने ति अधिकारी ओलीका हकमा भने सार्वजनिक कार्यक्रममा व्यापक रुपमा देखिने गरेका छन्।

सार्वजनिक कार्यक्रममा ओली उत्रिँदा सादा पोशाकका सुरक्षा अधिकारीले भिड र बाटोलाई पनि घेरा हालिरहेका हुन्छन्। यसबाहेक प्रधानमन्त्री ओलीका पछाडि तीन जना ब्रिफकेश लिएर उभिएका पनि हुन्छन्। सादा पोशाकमा खटिएका सुरक्षाकर्मी आर्मीका हुन् र आजभोली प्रधानमन्त्रीका कार्यक्रममा उपस्थितलाई तिनले कालो मास्क समेत लगाउन दिने गरेका छैनन्।

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीको यो कडा सुरक्षासँग पछाडि उभिने आर्मीको ब्रिफकेशमा के हुन्छन्? धेरैको खुल्दुलीको विषय यहि थियो।

नेपाली सेनाका अधिकारीहरूका अनुसार ति ब्रिफकेशमा बुलेटप्रुफ प्लेटहरू र अत्याधुनिक मेसिनगन्ज हुन्छन्। आर्मीका अधिक तालिमप्राप्त सुरक्षाकर्मीलाई त्यसरी खटाइएको हुन्छ। त्यसलाई सेनाले क्लोज प्रोटेक्शन कोर टिम भन्छ। ‘यस्तो टिममा आधा दर्जन हुन्छन्। त्यस मध्येका तीन जनाले ब्रिफकेश बोकेका हुन्छन्’, उच्च सुरक्षा स्रोतले भन्यो।

मोटो देखिने ब्रीफकेसमा सब मेसिनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच (बुलेटप्रुफ) हुन्छन्। मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि हुने गरेको बताइन्छ। ब्रिफकेशको माथिपट्टि नै ट्रिगर हुन्छ।

अति विशिष्ट व्यक्तिमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यो कोर टिमले पहिलो चरणमा सुरक्षा प्रत्याक्रमण गर्ने रणनीति बनेको हुन्छ। सोहीअनुसार त्यसरी तालिम दिएर खटाइएको हुन्छ।

पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन्। विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ। त्यसलाई जोडले झड्काउँदा बुलेटप्रुफ सुरक्षाकबच खुल्ने तयारीमा राखिएको सेनाका अधिकारी बताउँछन्।

प्रतिक्रिया