सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिंदैन : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र बलियो बनाउन ताजा जनादेशका लागि सरकारले चुनाव घोषणा गरेको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा आज (शुक्रबार) टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीं कतैबाट हुन नहुने बताएका छन् ।

‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ उनले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ, अपराधहरुलाई नियन्त्रण गर्छ ।’

उनले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न पक्षलाई संवादको माध्यमबाट आउन आह्वान गरेका छन् । ओलीले सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

प्रतिक्रिया