

मेयरमा पराजित अनिता बनिन् संघीय मन्त्री

धनुषा – गत वर्ष सम्पन्न स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरको मेयरमा पराजित बनेकी अनितादेवी शाह आज (सोमबार) मन्त्री बन्ने सौभाग्य पाएकी छिन् । वैशाखको निर्वाचनमा मेयरमा पराजित भए पनि मंसिरको निर्वाचन पछि उनी समानुपातिकबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
उनै अनितालाई सरकारमा पठाएर जनमतले प्रचण्ड सरकारमा सहभागीता जनाएको छ ।
सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले अनितालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
उनले जनकपुरधाम मेयरमा १ हजार ४३७ मत प्राप्त गर्दै सातौं स्थानमा सीमित भएकी थिइन् ।
संघीय संसद्मा अध्यक्ष राउतसहित जनमत पार्टीका ६ सांसद छन् । गत स्थानीय तहको निर्वाचन अघि जनमत पार्टीमा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी ४१ वर्षीया अनिता यसअघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन् ।
जनमत सरकारमा सामेल हुने भएपछि प्रधानमन्त्री दाहालले माओवादी केन्द्रबाट मन्त्री बनेका अमनलाल मोदीलाई फिर्ता बोलाएर उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुदी मेयरमा विजयी भएका थिए ।

