आज प्रजातन्त्र दिवस : विविध कार्यक्रम गरी मनाइँदै


काठमाडौं – आज (शुक्रबार) ७१ औं प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ ।

त्यसअघि नेपाली सेनाले आज बिहान ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको थियो । अघिल्ला वर्षहरुमा धरहराबाट बिगुल बजाउने गरिए पनि आज जंगीअड्डा र त्रिचन्द्र महांकाल हस्पिटलको भवनबाट बिगुल बजाइएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

प्रतिक्रिया