सांसद शर्मालाई थुनाबाहिरै अनुसन्धान गर्न अदालतको आदेश

अन्य सात डाक्टरलाई भने थुनामा राख्न अनुमति


काठमाडौं – काठमाडौं जिल्ला अदालतले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

बिहीबार काठमाडौंको गोल्फुटारस्थित आफ्नै निवासबाट पक्राउ परेका शर्मालाई शुक्रबार सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेको थियो।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आदेश दिएको हो।

शर्माबाहेक यस प्रकरणमा पक्राउ परेका अन्य सात जना डाक्टरहरूलाई भने अदालतले हिरासतमा राख्न अनुमति दिएको छ।

डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित, डा. पुनम थापा चौधरी, डा. मनित चौधरी र डा. श्रद्धा शिल्पकारलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।

सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेकाहरूलाई पक्राउ गर्न अपरेशन नै चलाएको छ जसका कारण यस कसुरमा अरू पनि पक्राउ पर्ने सम्भावना छ।

प्रतिक्रिया