कपन क्षेत्रमा आज पनि महानगरको डोजर, आन्दोलनमा उत्रिए स्थानीय


काठमाडौं – काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमा कपन क्षेत्रमा रहेको चखुंञ्चा खोला उत्खननलाई लिएर शुक्रवार पनि कपन क्षेत्रमा तनाव शुरू भएको छ ।

काठमाडौं महानगरले आज सो क्षेत्रमा डोजर चलाउने तयारी गरेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । अतिक्रमण गरी बाटो बनाइएको खोला उत्खननका लागि काठमाडौं महानगरको डोजर गएपछि बिहीवार तनाव भएको थियो ।

काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र काठमाडौं– ४ का सांसद गगन थापाबीच हिजो भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन । अतिक्रमित खोला जसरी पनि उत्खनन गर्न भन्दै महानगरको टोली कपन क्षेत्रमा जाँदैछ ।

खोला अतिक्रमणले हरेक वर्ष बाढी आएको भन्दै महानगरले खोलालाई पुरानै स्वरूपमा फर्काउने तयारी गरेको छ । काठमाडौं महानगरपट्टीका केही स्थानीयले भने उत्खननको पक्षमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया