

संखुवासभाका मृतक कैदीलाई प्रहरीद्वारा निर्घात कुटपिट गरेको सिसिटिभी फुटेज, १० प्रहरी नियन्त्रणमा

विराटनगर – संखुवासभा जेलभित्र कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ ।
जिल्ला कारागारमा रहेको सिसिटिभी फुटेजमा मृतक दुई कैदीबन्दीलाई प्रहरीले कुटपिट गरेको देखिएको छ ।
प्रहरी स्रोतका अनुसार कारागारभित्रै कैदीमाथि लठ्ठी र मुक्काले बारम्बार हानेको सीसी क्यामेरा फुटेजमा देखिएको छ । प्रहरीले कुटपिटको घटनामा सम्लग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको जनाए ।
कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका(५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका(७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानको राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो ।

