

ओलीको प्रतिगामी कदमविरुद्व एकजुट भएर लड्न प्रचण्ड-नेपाल समूहको आग्रह

जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्व एकजुट भएर लड्न सबैलाई आग्रह गरेका छन् ।
निधन भएका पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको १३ औं दिनको अवसर पारेर जिल्लाको हरिपुर नगरपालिका १ हजारबिघामा आयोजना गरिएको श्रद्वाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्ड र माधव नेपालले प्रतिगामी कदम परास्त गर्नुपर्ने भन्दै सबैलाई एकजुट हुन आग्रह गरेका हुन्।
प्रचण्डले प्रधानमन्त्री ओली निरंकुश बन्न खोजेको बताए । ‘यो प्रतिगामी र निरंकुश कदमविरुद्ध देशभित्र र बाहिर रहेका सबै नेपालीहरू जाग्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘नेपाली जनताले पुनः एक पटक राष्ट्रहितका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ ।’
अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भएको बताए । उनले यो कदमविरुद्व एकजुट भएर अगाडि बढ्न नेता/कार्यकर्तासँग आग्रह गरे ।

