
नेपाली चालकलाई केरुङ प्रवेश पास व्यवस्था गर्न चीन सकारात्मक
काठमाडौँ – रसुवागढी नाका हुँदै केरुङ जाने ट्रक कन्टेनरका चालकलाई प्रवेश अनुमतिपत्र व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् ।
विभाग पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधिमण्डलसँगको कुराकानीमा महानिर्देशक अधिकारीले उक्त कुरा बताएका हुन् ।
‘चीनतर्फ कस्टम अथोरिटीसम्म कुरा लैजाने गरी नेपालस्थित चीनको राजदूतावासका सेकेण्ड सेक्रेटरीसँग बुधबार नै अध्यागमन विभागमा छलफल गरेको थिएँ । चीन यस विषयमा सकारात्मक छ । चाँडै समस्याको समाधान हुनेमा हामी आशावादी छौँ’, महानिर्देशक अधिकारीले भने ।
गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमतिपत्रसम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको थियो । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमतिपत्र, कामदार प्रवेश अनुमतिपत्र, व्यवसायी प्रवेश अनुमतिपत्र, एकदिने प्रवेश अनुमतिपत्रको व्यवस्था थियो । तर, अहिलेसम्म चालकले चीन प्रवेश अनुमतिपत्र पाएका छैनन् ।
प्रवेश अनुमतिपत्र नपाउँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरूले चीन प्रवेश पाएका छैनन् । उनीहरूले काठमाडौँबाट १३२ किलोमिटर दूरीमा रहेको रसुवागढीको टिमुरेसम्म मात्रै सवारीसाधन पुर्याउन पाएका छन् । उनीहरूले लगेका ट्रक तथा कन्टेनर चीन प्रवेश अनुमतिपत्र भएका रसुवाका चालक खोजेर २४ किलोमिटर दूरीमा रहेको केरुङ लान थप १५ हजार तिर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरू बताउँछन् । जसको विरोध मजदुर सङ्गठन र व्यवसायीहरूले गर्दै आइरहेका छन् ।
चालकहरूलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र पछि सङ्गठन र जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र गोसाईंकुण्ड गाउँपालिकालाई ध्यानाकर्षण गराइएको थियो ।



कागजपत्र |
