कोरोनाबाट मृत्यु भएका ७ सय बढिको छैन तथ्याङ्क, सच्याउँदै मन्त्रालय


काठमाडौं – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थपिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याउने भए सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने भएको हो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले बुधबार छानबिन समितिको प्रतिवेदनअनुसार सच्याउने निर्णय भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थप ७ सय २३ ले बढ्ने भएको हो ।

मन्त्रालयले बुधबारसम्म २ हजार ५५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयको निर्णयअनुसार यो संख्या २ हजार ७ सय ७८ हुने स्रोतले जनाएको छ । यो तथ्याङ्कअनुसार कोरोनाबाट मृत्यु हुने दर १ प्रतिशत नाघेको छ ।

मन्त्रालयले मृतकको अद्यावधिक विवरण सार्वजनिक गर्न बाँकी छ । नेपाली सेनाले भने मङ्गलबारसम्म २ हजार ९ सय ९२ जनाको शव व्यवस्थापन गरिसकेको जनाएको छ । सेनाले कोरोना पुष्टि भएको पीसीआर रिपोर्ट र मृत्यु भएको प्रमाणपत्रका आधारमा मात्रै शव व्यवस्थापन गर्दै आएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको सङ्ख्यामा ९ सयभन्दा बढी फरक परेपछि छानबिन समिति गठन गरिएको थियो । आईसीएसका पदाधिकारीको बुधबार बसेको बैठकको छलफलअनुसार कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरूको तथ्यांक अस्पतालहरूले नराख्ने र रिपोर्टिङ नगर्ने गरेको पाइएको मन्त्रालयले जनाएको छ ।

मृतकको विवरण नपठाउनेमा काठमाडौंका अस्पतालसमेत पाइएको स्रोतले जनाएको छ । सेनाले शव व्यवस्थापन गरेको तर मन्त्रालयको रेकर्डमा छुटेकालाई पीसीआर रिपोर्ट र अस्पतालको प्रमाणका आधारमा मृतकको सङ्ख्यामा थप गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया