सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिनु शंकास्पद छः डा. शेखर कोइराला


काठमाडौं – कांग्रेस नेता डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिएकोमा आशंका व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन काठमाडौंको प्रमाणपत्र वितरण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै डा. कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएको जनाएका छन् ।

उक्त अवसरमा कोइरालाले भने, ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’

कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको र पछिल्लोपटक पनि यस्तै भएको भन्दै यसबारेमा पत्रकारहरूले लेख्नुपर्ने बताए ।

डा. कोइरालाले प्रेस युनियन काठमाडौं शाखाको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया