गलेश्वरमा ६ लाख बढी भेटी संकलन


म्याग्दी – प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म ६ लाख भेटी संकलन भएको छ।

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबाररसम्म ६ लाख ३ हजार भेटी संकलन भएको हो।

मंगलवार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो। गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार साउन १ गते परेको पहिलो सोमबार ३ लाख ६५ हजार, साउन ८ गतेको दोस्रो सोमबार ९६ हजार र १५ गते तेस्रो सोमबार एक लाख ४१ हजार भेटी संकलन भएको हो।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयको उपस्थितिमा गनेर सार्वजनिक गरिएको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताइन्। ठूला पर्वमा भोलिपल्टै तथा अरु बेला महिनामा २ पटक भेटी गन्ने गरिन्छ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा कालीगण्डकी नदीबाट जल ल्याइ स्नान गर्ने व्यवस्था मिलाइएको छ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ जाने भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन्।

 

प्रतिक्रिया