

एमालेको वेभसाइटबाट ‘हटे’ डा. सन्तोष पौडेल !

काठमाडौं – वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको नाम नेकपा एमालेको वेभसाइटबाट हटेको छ ।
२०७९ फागुन ५ गते वीर अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्ति भएका डा. पौडेलको आइतबारसम्म पार्टीको संगठित सदस्यको रुपमा पार्टीको आधिकारिक वेभसाइटमा नाम रहेको थियो ।
यसअघि डा. पौडेलको नम्बर राखि वेभसाइटमा खोजी गर्दा उनको नामसहित फोटो पनि देखिन्थ्यो भने अहिले भने ‘कुनै पनि डाटा भेटिएन’ भनेर लेखिएको पाइन्छ ।
डा. पौडेल राजनीतिक दलको कार्यकर्ता भएकाले वीर अस्पतालको कार्यकारी पदबाट निलम्बन गर्नुपर्ने मागसहित विभिन्न निकायमा उजुरी परेपछि पार्टीले उनको नाम हटाएको हो ।
उनी विरुद्ध राजनीतिक पार्टीको संगठित सदस्य र पार्टी सम्बद्ध जनसंगठनमा महासचिव पदमा क्रियाशील रहेको भन्दै वीर अस्पतालका कर्मचारीका तर्फबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री कार्यालय, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्रका साथै स्वास्थ्य मन्त्रालयका सचिवकोमा उजुरी परेको छ ।
उजुरी सम्बन्धमा कारबाही अगाडि बढाउँदै निर्वाचन आयोगले पनि नेकपा एमाले पार्टीसँग जवाफ माग गर्दै यही असार २० गते पत्र समेत काटेको थियो ।
यस सम्बन्धमा अनलाइनन्यूज७ गते आइतबार समाचार प्रकाशित गरेको थियो ।

