बैतडीमा मध्यरातमा जिप दुर्घटना, चालकसहित २ जना घाइते


बैतडी – महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दुर्घटनामा परी  जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।

घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा ‘रेफर’ गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

जीपमा चालक र सहचालक मात्रै सवार थिए।  जीप सडकबाट १०० मिटर तल खसेको थियो। जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिक्रिया