

संघमा राष्ट्रियसभा खारेज गरौं : अध्यक्ष लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् ।

अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार
आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने बताए । सरकारले दिएको अनुदान पनि बिचौलियामा बढी जानेको कुरालाई आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले आफूहरूले उत्पादन गरेको आलुको पहिचानसम्म नभएको कुरा गम्भीर भएको ठहर थियो ।
अध्यक्ष लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् । उनले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दूराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए ।
उनले सेना बिनाको राज्य बनाउने प्रस्ताव समेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौति गरेर खर्च कम गर्नुपर्ने बताए । उनले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे ।
शैलुङ क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्ने उद्देश्यले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई आलु उपहार दिएको किसानको भनाइ छ । शैलुङ गाउँपालिका–८ का किसान प्रवीण थपलियाले शैलुङको आलु मुढेको भनेर बेच्ने गरेको र खास आलु उत्पादन गर्ने ठाउँ ओझेलमा परेको सुनाए ।
‘शैलुङको आलु अग्र्यानिक छ, युरिया मलको प्रयोग गरेको छैन’, शैलुङ क्षेत्रको विकासमा राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले राजनीतिक दल र मन्त्रीहरूलाई आलु उपहार दिएको उल्लेख गर्दै उनले भने, ‘यसअघि राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई दिने क्रममा आज अध्यक्ष लिङ्देनलाई प्रदान गरेका हौँ ।’
शैलुङका किसानले आलु बेच्नका लागि बाटोको समस्या रहेको र शैलुङबाट उत्पादन भएको आलु मुढेको भनेर बेच्ने गरेका दुःखेसो राखेका थिए । किसानले शैलुङको आलु नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई उपहार दिइसकेका छन् ।

