

नेपाल टेलिकमले शुरु गर्यो एनटी च्याटबोट सेवा, कसरी प्रयाेग गर्ने?

काठमाडौं – नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरिएको टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले बताए ।
कम्पनीको वेभसाइट खोल्ना साथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने पनि सह–प्रवक्ता लोहियाले बताए । च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अङ्ग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।
कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।एनटी च्याटबोटको माध्यमबाट विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो गर्न समेत सकिने व्यवस्था समेत गरिएको छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था समेत टेलिकमले गरेको छ ।

