नेपाली कांग्रेस चितवनको १५ दिने अभियान सञ्चालन


काठमाडौं – नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा शनिबारदेखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो।

अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उनले जानकारी दिए। अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरण लगायतका जागरणका काम गरिनेछ।

नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ। अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ। चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए।

अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तर्क्रिया हुनेछन्। सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उनले जानकारी दिए।

पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिए।

प्रतिक्रिया