हङकङबाट रेडी ट्रेड प्रालिले मगाएको थियो ‘सुन’


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो ।

क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।

‘ब्रेक प्याड’ १६० सेट मगाउने कम्पनी हो– ‘रेडी ट्रेड प्रालि ।’ सो कम्पनीको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।

रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले बताए ।

राजस्व अनुसन्धान विभागको टोलीले तस्करीमा संलग्न गिरोहले बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागेको अवस्थामा बुधवार साँझ सुन बरामद गरेको थियो ।

प्रतिक्रिया