


सीताले मृत्यु पनि निकै शान्त रोजिन् : प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् ।
मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।
साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८:३० मा उनी बिदा भइन् ।’
सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

