

काठमाडौंमा सवारी साधन पार्किङको नयाँ शुल्क निर्धारण, कहाँ कति ?

काठमाडौं – काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङको नयाँ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङ्ग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी गराएकी छन् ।
उनले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन नयाँ शुल्क निर्धारण गरिएको जानकारी दिइन् । जसअनुसार काठमाडौं महानगरपालिकाभित्र दुई पाङ्ग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५-५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले जानकारी गराइन् ।
उनका अनुसार चार पाङ्ग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्योभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी महानगरपालिकाले आफ्नो मातहतभित्रका सामूदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमै तलव उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरूले सामूदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमा नै तलव खुवाउने व्यवस्था गरेको उपमेयर डंगोलले बताए ।
सामुदायिक विद्यालयका शिक्षकहरूले त्रैमासिक रुपमा तलव पाउने व्यवस्था संघीय सरकारले गरेको छ । तर काठमाडौं महानगरपालिकाले भने स्रोत भर्ना कोषमार्फत उनीहरूलाई मासिक रुपमै तलव लिने व्यवस्था गरेको हो । उपमेयर डंगोलले भनिन्, ‘यो वर्षभित्रबाट काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले पनि मासिक रुपमै तलव पाउने व्यवस्था हामीले गरेका छौं । यो चाँही त्रैमासिक रुपमा केन्द्रीय सरकारबाट आउने बजेट यस पटकदेखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं ।’

