११ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् १० एजेण्डा (सूचीसहित)

बैठक पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने


काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले भोलि (मंगलबार) देखि शुरु हुने केन्द्रीय समिति वैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । बैठक ११ महिनापछि भोलि (मंगलबार) दिउँसो १ बजेदेखि बस्नेछ । यो बैठकलाई पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भएको सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (सोमबार) बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा सभापति देउवाले बैठक ‘लाइभ’ गराउने प्रस्ताव राखेका थिए । ‘यो एजेण्डा त हैन, तर सभापति ज्यूले प्रस्ताव गर्नुभएको छ । यसमा दुईपक्षीय राय छ । सभापतिको प्रस्ताव भएपछि बैठक लाइभ होला जस्तो देखिन्छ’, उनले सुनाए ।

महामन्त्री विश्वप्रकाश शर्माअनुसार बैठकको पहिलो एजेण्डा समसामयिक विषय रहेको छ । जसमा आर्थिक, सामाजिक, परराष्ट्र, सुशासनलगायत विषयमा छलफल हुनेछ । यस्तै, बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ । तेस्रो एजेण्डामा कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्ने, गोपालमान श्रेष्ठ नेतृत्वको निर्वाचन परिचालन समितीको प्रतिवेदन प्रस्तुत हुनेछ ।

महामन्त्री शर्माका अनुसार नीति अधिवेशनको मिति र स्थान तोक्ने, २७ विभागबाट संख्या बढाउने र उनीहरुको नाम र कार्यक्षेत्रको विषयमा छलफल हुने, राष्ट्रव्यापी अभियानको घोषणा, आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिको प्रतिवेदन पेस, रमेश लेखकद्वारा सदनमा सम्पादन भएका कामहरूको प्रतिवेदन पेस गर्ने र उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे जानकारी गराउने एजेण्लठडा तय भएको छ ।
यस छन् १० एजेण्डा

१. समसामयिक विषय (आर्थिक, परराष्ट्र) ।

२. सांगठनिक कार्ययोजना र कार्य तालिका ।

३. केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव ।

४. निर्वाचन परिचालन समितिको प्रतिवेदन ।

५. नीति अधिवेशन सम्बन्धमा ।

६. विभागहरू गठन, थप र कामको व्यख्या ।

७. राष्ट्रव्यापी अभियानको घोषणा ।

८. अनुशासन समितिको प्रतिवेदन पेस ।

९. संसदमा सम्पादन भएका कामहरूको प्रतिवेदन ।

१०. सरकारको गतिविधिबारे जानकारी ।

प्रतिक्रिया