राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन् सम्पत्ति विवरण, एक सेट निलमको गहना र ३०० तोला चाँदी


काठमाडाैं – राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् ।

साेमबार उपाध्यक्ष अर्यालले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् । उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ।

सम्पत्ति विवरण बुझाउँदै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् ।

सार्वजनिक गरिएको विवरणअनुसार, बुढानिलकण्ठ नगरपालिका- ४ मा १८ आना घडेरी रु ४ करोडमा किनेको उल्लेख छ। त्यसको स्रोतको रुपमा बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट रु २ करोड ५३ लाख ऋण लिएको उल्लेख छ।

प्युठानमा २ रोपनी घडेरी र १३ रोपनी जग्गा, पर्साको वीरगंज महानगरपालिकामा ३ कट्ठा ८ धुर जग्गा श्रीमान यमबहादुर थापाको नाममा रहेको विवरणमा उल्लेख छ।

उनले दाइजो वापत प्राप्त भएको १२ तोला सुन, एक सेट हिराको गहना, एक सेट निलमको गहना र अन्दाजी ३०० तोला चाँदी रहेको उल्लेख छ।

विभिन्न कम्पनीमा सेयर रहेको विवरण पनि सम्पत्ति विवरणमा उल्लेख छ। बैंकमा ७४ हजार रुपैयाँ रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ।

यसैबीच संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया