१ साउनबाट हवाई टिकटमा भ्याट अनिवार्य, ६ प्रतिशतसम्म भाडा महंगो हुने


काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ ।

१५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो । तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।

बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिनेसमेत विभागले जनाएको छ । भ्याट कार्यान्वयनपछि अधिकतम् ६ प्रतिशतसम्म भाडा महंगो हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

 

प्रतिक्रिया