

पाँचथरमा ट्रक दुर्घटना – एक जनाको मृत्यु

पाँचथर – पाँचथरमा ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजे फिदिमबाट ताप्लेजुङतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ना२ख ९२१५ नम्बरको ट्रक मेची राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ट्रकमा सवार ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादवको नेतृत्वमा गएको प्रहरी टोलीले दुर्घटनामा परेका चालक तथा सवारी धनी ४५ वर्षीय पारसमणि थापा‚ ट्रकमा सवार ३१ वर्षीय जीवन गदाइली र तामाङलाई उद्धार गरेको थियो ।
उद्धारपछि अस्पताल पुर्याइएका उनीहरूमध्ये तामाङलाई चिकित्सकले मृत घोषित गरेका थिए । थप दुईको अवस्था पनि गम्भीर रहेको र उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

